रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित बकुलहर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा मंगलबार २ हजारभन्दा बढी बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको छ। चिकित्सालयले हरेक महिनाको पुष्य नक्षत्रका दिन सञ्चालन गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो।
चिकित्सालयका प्रमुख डा. नन्दन कंडेलका अनुसार मंगलबार कुल २ हजार २५ जना बालबालिकाले स्वर्णविन्दु सेवा लिएका छन्। सेवा लिनेमा ९९२ जना बालक र १ हजार ३३ जना बालिका रहेका छन्। उमेर समूहअनुसार १ देखि २ वर्षसम्मका ७२५ जना तथा २ देखि ५ वर्षसम्मका १ हजार ३०० जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको चिकित्सालयले जनाएको छ।
आयुर्वेदिक मान्यताअनुसार १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि, स्मरण शक्ति विकास तथा मौसमी संक्रमणबाट बचाउन स्वर्णविन्दु उपयोगी मानिन्छ। चिकित्सालयले पुष्य नक्षत्रका अवसरमा नियमित रूपमा यस्तो सेवा प्रदान गर्दै आएको छ।
सरकारले ‘जेन्जी शहीद दिवस’का अवसरमा सार्वजनिक बिदा घोषणा गरे पनि बकुलहर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले भने नियमित सेवा सञ्चालन गरेको थियो। बिदाको दिन भएकाले बिहानैदेखि बालबालिकालाई लिएर अस्पताल पुग्ने अभिभावकको बाक्लो उपस्थिति देखिएको थियो।
कार्यालय तथा दैनिक कामको चटारो कम भएकाले सार्वजनिक बिदाको दिन बालबालिकालाई सहज रूपमा स्वर्णविन्दु खुवाउन पाएको भन्दै अभिभावकहरूले खुसी व्यक्त गरेका थिए। चिकित्सालयमा सेवा लिन आएका अभिभावक तथा बालबालिकाको चापका कारण दिनभरजसो परिसर व्यस्त देखिएको थियो।








