चितवन । चितवनको रत्ननगर नगरपालिका–३ स्थित पुरानो यामाहा सोरुम अगाडि पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना.३ ख ५१८७ नम्बरको ट्रकले खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना.३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक मकवानपुरको मनहरी गाउँपालिका–७ का करिब ४३ वर्षीय दिपेन्द्र बर्तौलाको हातखुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। बर्तौलालाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको थियो।
स्कुटरको पछाडि सवार सोही स्थानका करिब ३८ वर्षीय पृतम मोक्तानको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि बकुलहर अस्पताल, टाँडी लगिएको थियो। तर उपचारका क्रममा बिहान ९ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र ट्रक चालक पर्साको कालिकामाई गाउँपालिका–१ बस्ने करिब ३६ वर्षीय रञ्जित कुमार पटेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।








