चितवन । मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण सुरु गरिएको वैकल्पिक नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणको काम तीव्र रूपमा अघि बढेसँगै असोज १ गतेदेखि उक्त ट्र्याकमार्फत नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा नयाँ ट्र्याकबाट आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि बाँकी निर्माण कार्यलाई तीव्रता दिइएको हो। यद्यपि, हालसम्म नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार आज निर्माण सुरु भएको ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ तथा नाली निर्माणको काम भइरहेको छ। “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,” उहाँले भन्नुभयो।
निर्माणको प्रारम्भिक चरणमा नौदेखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेको छ।
हाल नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी नयाँ ट्र्याकमा ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथिल्लो भागमा टिक ड्रेन निर्माण गर्ने काम पनि भइरहेको इञ्जिनियर नेपालले जानकारी दिनुभयो। सब–बेसको अन्तिम तह निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ भने नालीसहित संरचनाको कुल चौडाइ करिब साढे सात मिटर रहेको छ। “यो खण्ड अलिकति जोखिम छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ,” नेपालले भन्नुभयो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताउनुभयो। उहाँले परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको स्पष्ट पार्दै सर्वसाधारणलाई नयाँ ट्र्याक खुला भइसकेको भ्रममा नपर्न आग्रह गर्नुभयो। थप समस्या नआएमा असोज १ गतेसम्म निर्माण सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।








