चितवन। विश्व सरसफाइ दिवस (World Cleanup Day) को अवसरमा चितवनको भरतपुरस्थित चौबीसकोठीमा बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ग्रीनल्याण्ड पब्लिक स्कुलको मुख्य आयोजनामा सामाजिक, स्वास्थ्य तथा व्यावसायिक क्षेत्रका २५ भन्दा बढी संघ–संस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षकले बालबालिका तथा विद्यार्थीलाई सानै उमेरदेखि वातावरण संरक्षण, व्यक्तिगत सरसफाइ र सामाजिक स्वच्छताको महत्त्वबारे सचेत गराउनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई यस्ता अभियानमा सहभागी गराउँदा जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने धारणा राख्नुभयो।
ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्रिन्सिपल तथा कार्यक्रमकी सभाध्यक्ष इन्दिरा पन्त कार्कीले विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै त्यसलाई व्यावहारिक जीवन र वातावरणसँग जोड्ने अभ्यास गर्दै आएको बताउनुभयो। उहाँले वातावरण संरक्षणसम्बन्धी सामाजिक अभियानमा विद्यार्थीको सहभागितालाई विद्यालयले प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
‘लेट्स डु इट’का कन्ट्री लिडर मिलन न्यौपानेले इस्टोनियाबाट सुरु भएको विश्वव्यापी सरसफाइ अभियान हाल २१० भन्दा बढी देश तथा क्षेत्रमा फैलिएको जानकारी दिनुभयो। सामाजिक अभियन्ता अर्जुन भुसालले स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
त्यस्तै, ‘बेटर चितवन’का संस्थापक अध्यक्ष सागर कार्कीले अव्यवस्थित फोहोरले वातावरण, जनस्वास्थ्य तथा जैविक विविधतामा पार्ने असरबारे चर्चा गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो।
सेप्टेम्बर २० मा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय नागरिक तथा विभिन्न संस्थाका प्रतिनिधिसहित ३०० भन्दा बढीको सहभागिता थियो। सहभागीले चौबीसकोठी तथा आसपासबाट ३० बोराभन्दा बढी ठोस फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए।











