भरतपुर । समाजमा अझैपनि महिलालाई साँघुरो घेरामा राखेर हेर्ने गरिन्छ । यो विकृति हटाउनैपर्छ । अझैपनि महिला घरभित्र सिमित गर्ने प्रयास भैरहेका छन् । कैयन महिला नेतृत्वतहमा पुगिसकेका छन् । उच्च पदमा पनि छन् । तर कैयन महिला अनेक पीडासँग जुधिरहेका छन् । अझैपनि ग्रामीण भेगका महिलाले व्यवसाय सुरु गर्न त्यति सजिलो छैन । होटल व्यवसायमा अब्बल बन्नुभएकी सोनी कुमाल विगतको संघर्ष सम्झदै भक्कानिनुहुन्छ ।
सोनीको २०३५ सालमा जन्मिनुभएको हो । बुवा हर्कबहादुर र आमा सुञ्चरीले सोनीलाई दुःख सुख गरि पढाउनुभयो । भरतपुर–२८ गोलाघाट उहाँको जन्म थलो हो । राम्रो काम गरेर चिनिने उहाँको लक्ष्य थियो । २०६८ सालमा नमुना होटल चलाउन थाल्नुभयो । त्यो बेला होटल चलाउँदा निकै मन दुखाउनुपरेका दिन सम्झनुहुन्छ । होटल चलाउने महिलाप्रति हेर्ने दृष्टिकोणनै नकारात्मक थियो । तरपनि सोनीले हरेश खानुभएन । व्यवसायमा प्रतिवद्ध भएर लाग्नुभयो । राप्ती र नारायणी नदीको बीचमा रहेको गोलाघाट पर्यटक घुमफिर गर्ने राम्रो ठाउँ पनि हो ।
त्यतिबेला नगण्य होटल थिए । राम्रै कमाई हुनथ्यो । अविवाहित सोनी बुबाआमासँगै होटलमा व्यस्त बन्ने दैनिकीनै बनेको छ । सोनीलाई कहिलेकाही लाग्ने लाञ्छनाले दुःखी त बनायो नै, तर हरेश खानुभएन । होटलमा बुबा, आमाले सघाउनुहुन्छ । सोनी आजभोली सफल होटल व्यवसायीका रुपमा चिनिनुहुन्छ । “अरुको सोच र व्यवहार गलत भएपनि हरेश खाइन”, उहाँले भन्नुभयो, “बुबा, आमाले सधै उर्जा दिनुभयो ।” सुरुमा ढेड लाख लगानी भएको होटलमा अहिलेसम्म ५५ लाख लगानी भैसकेको छ । होटललाई अझै विस्तार गर्दै लैजाने उहाँको सोच छ ।
सोनी पहिले सिलाई कटाई गर्नुहुन्थ्यो । उहाँले गाउँघरका दिदिबहिनीलाई सिलाई कटाईको सीप पनि सिकाउनुभयो । गार्मेण्ट उद्योगनै चलाउने सपना भएपनि पुरा गर्न सक्नुभएन । तर, उहाँले पेशा परिवर्तन गरेर होटल खोल्नुभएको थियो । हरेक एकादशी मेलामा गोलाघाट क्षेत्रमा मेला लाग्थ्यो । मेलामा आउनेलाई लक्षित गरि होटल खोल्ने इच्छा जाग्यो । बुबा आमासँगको सल्लाहपछि होटल व्यवसाय सुरु गर्नुभयो । सोनी नमुना पात्रका रुपमा परिचित हुनुभएको छ । साथै उहाँ गोलाघाटको पहिलो महिला होटल व्यवसायी पनि हुन । जेठी दिदि माया र कान्छी बहिनी रमाको विवाह भैसकेको छ । माया सिलाई बुनाई गर्छिन भने रमा नर्स हुन । आँट भए सफल बन्न सकिने सोनीको बुझाई छ ।








