कालिका । चितवनको कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी किरण थापाले सम्हाल्नुभएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत रहनुभएका थापा कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनुभएको हो।
थापाले आजैदेखि नगरपालिकामा आफ्नो कार्यभार सम्हाल्नुभएको छ। उहाँलाई नगर प्रमुख विनोद रेग्मी, नगर प्रवक्ता एवं कालिका नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का वडाध्यक्ष टीकाराम रेग्मीलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो।
कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत थापाले कालिका नगरपालिकाको समग्र विकास र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको विकास निर्माण, सुशासन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यका साथ अघि बढ्ने बताउनुभयो।
यसअघि कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका देवराज चौलागाईंको काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा सरुवा भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको प्रशासनिक कार्यसम्पादन, विकास निर्माण तथा सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।








