हेटौंडा । सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै लिग सञ्चालन गर्ने निर्णय गरेका हो । कोरोना भाइरसका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो । कोरोना संक्रमणको डरले लामो समय घरेलु फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यस वर्ष सक्ने तयारी गरेको छ । एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सी डिभिजनका क्लबले अब तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् । एन्फा सी डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत बनेको हो । एन्फाले बुधबार मात्र सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।








