चितवन । सरकारले जारी गरेको लकडाउन तेस्रो हप्तामा चलिरहदा चितवनका अस्पतालहरुमा उपचार गराउने आउने बिरामीको संख्या ह्वात्तै घटेको छ । जिल्लाका ठूला तथा साना निजी अस्पतालहरुमा उपचार गराउने आउने बिरामीको संख्या ९२ प्रतिशतभन्दा बढिले घटेको ती अस्पतालहरुले जनाएका छन् ।
जिल्लाका अस्पतालमा विभिन्न जिल्लाका झण्डै ६ हजार ५ सय बिरामी दैनिक उपचार गराउन आउने गरेका थिए । हाल यस्तो संख्या मुस्किलले पाँच सय पुग्ने गरेको छ । बिरामी आउन छाडेपछि अस्पतालहरु सुनसान भएका छन् ।चितवनको भरतपुर अस्पतालमा गत बर्ष यस सिजनमा दैनिक १५ सयको हाराहारीमा बिरामी उपचार गराउन आउँथे । ओपिडीमा खुट्टा राख्ने ठाउँ पनि हुँदैनथ्यो । ठेलमठेल भीड लाग्थ्यो । ल्याव, काउन्टर, भिडियो एक्सरे गर्ने ठाउँमा लामो लाइन हुन्थ्यो । तर, अहिले अस्पताल सुनसान देखिन्छ ।
दशैंका बेलामा देखिने दृष्य अहिले धेरै अस्पतालमा देखिन्छ । धेरैजसो चिकित्सकहरू फूर्सदिला बनेका छन् । मौका मिले नीजि अस्पतालमा विहान–बेलुका झुल्किन्छन् दिउँसो सरकारीमा हाजिर गर्छन् । घर र क्वाटरमा गएर सुत्छन् । कतिपय त आउन पनि आनाकानी गर्न थालेका छन् ।
भरतपुर अस्पतालको ओपिडीमा साधारण अवस्थामा १५ सय र आकस्मिक कक्षमा उपचार गराउन आउने औसत संख्या ११५ को हाराहारीमा हुन्थ्यो । सरकारले जारी गरेको लकडाउनपछि अस्पतालको ओपीडी सेवा बन्द भएर ज्वरो क्लिनिक चल्न थालेको छ । अहिले अस्पतालमा मुस्किलले डेढ सय जना नयाँ विरामी आउने गरेका छन् । तीमध्ये ओपिडीमा औसत ३० जना र बाँकी आकस्मिक कक्षमा आउँछन् ।
आकस्मिक कक्षमा न्यून संख्यामा बिरामी बढेको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालमा ४५० इन्डोर बेड छन् । त्यसमा १५० जनाजति बिरामी भर्ना भएका छन् । बाँकी बेड खाली छन् । एक सय बेड त प्रसुती गराउने महिलाहरुकै कारण भरिएको छ । भरतपुर अस्पताल राजधानी काठमाडौं पछिको सबैभन्दा धेरै प्रसुती सेवा लिने अस्पताल हो ।
भरतपुर अस्पताल मात्रै हैन, जिल्लाका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र २० वटा नीजि अस्पतालको पनि अवस्था उस्तै छ । जिल्लामा रहेका २० वटा नीजि अस्पतालमा साधारण अवस्थामा दैनिक दुई हजार विरामीले ओपीडी र दैनिक दुई सयले आकस्मिक सेवा लिने गरेका थिए । अहिले सबैमा गरेर मुस्किलले ५० पुग्छन् । जिल्लामा ५० बेडमाथि १० र ५० बेडभन्दा कम १० बेड क्षमता भएका निजी अस्पताल छन् । यी अस्पतालको इन्डोर बेड संख्या करीव ११ सयको हाराहारीमा रहेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारी बताउँछन् । अहिले भर्ना भएर बस्ने बिरामीको संख्या मुस्किलले दुई सय मात्रै छ ।
भरतपुरकै चितवन मेडिकल कलेजमा दैनिक १५ सय २ हजारसम्म बिरामी ओपिडीमा आउने गरेको निर्देशक डा. दयाराम लम्सालले बताए । अस्पतालको ओपीडी सेवा बन्द भएसँगै ज्वरो क्लिनिक सञ्चालन गरिएको छ । ज्वरो क्लिनिकमा १२ देखि १५ जनासम्म मात्रै बिरामी आउँछन् । सरकारको निर्देशन अनुसार ओपीडी सेवा बन्द छ । ७५० इन्डोर बेड रहेकोमा जम्मा १८४ मात्रै भरिएको छ ।
‘अरु बेलामा बेड मिलाइदिन भनेर फोन आउँथ्यो तर अहिले सबैजसो खाली छ,’ निर्देशक डा. लम्सालले भने, ‘बिरामी र भिजिटर गरेर दैनिक तीन–चार हजार मान्छे यहाँ आउँथे । बाटोमा जति बेला पनि भिड हुन्थ्यो, तर अहिले खुल्ला छ ।’
कलेजको आकस्मिक कक्षमा दैनिक ८० जनाको हाराहारीमा बिरामी आउने गरेको निर्देशक डा. लम्सालले बताए ।
‘क्रोनिक टाइपका पुराना बिरामी, उच्च रक्तचाप, प्यारालाइसिस्, डायलासिस् गर्नुपर्ने, सर्जिकल केस भएका, स्त्रीरोग र प्रसुती सम्बन्धि बिरामीहरु मात्रैं आउँछन्,’ निर्देशक डा. लम्सालले भने ।
यता, भरतपुरकै पुरानो मेडिकल कलेजमा साधारण अवस्थामा ७५० जना बिरामीले ओपीडीबाट उपचार सेवा लिने गरेका थिए । तर लकडाउनपछि अहिले दैनिक ६० जना बिरामी आउने गरेको निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए । पहिले आकस्मिक कक्षमा ५० जना आउने गरेकोमा अहिले दैनिक ३० जनाको हाराहारीमा आउँछन् । कलेजले ओपीडि सेवा बन्द नगरेको निर्देशक डा. प्रधानले बताए ।
पूरानो मेडिकल कलेजमा ५८६ वटा इन्डोर बेड छन् । तिनमो ८० जनाजति बिरामी रहेको डा. प्रधान बताउँछन् । बिरामी नै आउन छाडेपछि केही स्वास्थ्यकर्मीहरुलाई फोर्स लिभमा बस्न भनिएको उनले जानकारी दिए ।
भरतपुरको क्यान्सर अस्पतालमा पनि निकै कम मात्रै बिरामी उपचारका लागि आउने गरेका छन् । अन्य बेलामा दैनिक ६ सय जनाले आउने ओपिडी सेवा बन्द छ । आकस्मिक कक्षमा दैनिक ७० जनाजति बिरामी आइरहेको निर्देशक डा. बिजयचन्द्र आचार्यले जानकारी दिए । क्यान्सर अस्पतालको ४५० इन्डोर बेडमध्ये जम्मा एक सय बेडमा मात्रै बिरामी छन् । बाँकी बेड खाली नै छन् ।
भरतपुर कोरोना अस्पतालमा भने अहिलेसम्म ३४१ जनाले उपचार तथा परामर्श सेवा लिएका छन् ।








