काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको २०औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रियलले अग्रतालाई कायम राख्न सकेन । ५२औं मिनेटमा इल्चेले पेनाल्टीमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्यायो । ड्यानी कार्भाहलले पेनाल्टी बक्समा बारागानलाई तान्दै लडाएपछि पेनाल्टी पाएको इल्चेका लागि फिडेल चाभेसले सहज गोल गरे । बराबरीसँगै रियलको ५ खेलका लगातारको जित यात्रामा पूर्णविराम लागेको छ । रियल १६ खेलमा ३३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५ औं स्थानमा छ । शिर्षस्थानको एट्लेटिको मड्रिडको ३५ अंक रहेको छ । अझ एट्लेटिकोले २ खेल कम खेलेको छ । गएराति भएकै खेलमा गेटाफेविरुद्ध लुईस सुआरेजको गोलमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।








