गोरखा । गोरखा नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। नेपाल एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिइने भएको हो।
नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन लागेको मेयर राजनराज पन्तले जानकारी दिनुभयो। यस्तै नगरपालिकाले पृथ्वीजयन्ती मनाउन तीन दिने कार्यक्रमसमेत तय गरेको छ। २६ गते नगर क्षेत्रभित्र सरसफाइ, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम तथा २८ गते वतृत्वकलाजस्ता कार्यक्रम सञ्चालन गरिने निर्णय भएको नगरपालिकाले जनाएको छ।
पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णकदको शालिकअगाडि अन्तर्क्रियालगायत कार्यक्रम गर्ने पनि नगरपालिकाको कार्यक्रम छ।








