काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द भएको छ । बुधवार वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा बैठक भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका थिए ।
त्यसक्रममा आफ्ना समर्थकलाई उत्तेजित पार्ने खालको ट्वीट गर्न थालेपछि ट्रम्पको ट्वीटर र फेसबुक अकाउन्ट बन्द गरिएको हो । ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो । ट्रम्पले ‘सिविक इन्टेग्रिटी पोलिसी’ को उल्लंघन गर्ने तीन ट्वीट गरेको र त्यो ट्वीट नहटाए अकाउन्ट सधैंका लागि बन्द गरिने चेतावनी पनि दिएको छ । यस्तै, ट्रम्पले फेसबुकको दुई नीतिको उल्लङ्घन गरेको जनाएको छ ।
अब ट्रम्पले २४ घण्टा फेसबुकमा कुनै पनि पोष्ट गर्न पाउने छैनन् । हालसम्म ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो ।








