काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको अन्तिम समयमा पेड्रो ओबोयाङले रातो कार्ड पाएपछि सासुओलो १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउँदै खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । त्यसपछि ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए भने इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए । जितसँगै युभेन्ट्स १६ खेलमा ३३ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने पराजित सासुओलो २९ अंक जोडेर सातौं स्थानमा छ ।








