चितवन । अधिकांश मजदुरहरू भोकभोकै पैदलयात्रामा घरतिर हिँडिरहेको र सरकारले बेवास्ता गरिरहेका बेला चितवनको इच्छाकामना गाउँपालिकाले उद्धार गरी गन्तव्यस्थल पुर्याइदिएको छ । काठामाडौंबाट इच्छाकामना गाउँपालिकाको बाटो हुँदै आफ्नो घरजान पैदल यात्रामा हिँडेका उनीहरूलाई गाडीमा चढाएर घरसम्म पठाइएको हो ।

बिहीबार झन्डै सय जना र शुक्रबार ३०० जना पैदल यात्रीलाई उद्धार गरी गन्तव्यस्थल पठाइएको गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिइन् । ‘सयौं मजदुर, बटुवा भोकभाकै हिँडेर गएको मनले थाम्न सकेन, हामीले गाडी रोकेर गन्तव्य स्थल पठाएका हौं’, उनले भनिन् ।उनका अनुसार पूर्व हेटौंडा, बारासम्मका यात्री र पश्चिम डडेलधुरा, सल्यान कालीकोट लगायतका जिल्लामा अत्यावश्यक सामान ढुवानीका गाडीहरूमा राखेर ती यात्रीलाई पठाइएको हो । उनीहरूले खाना खुवाउनभन्दा बढी घर पुर्याइदिन आग्रह गरेपछि निःशुल्क ती गाडीमा पठाइएको उनले बताइन् ।









