काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरण कार्यक्रममा गरिब मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वका धनी देशका युवा तथा स्वस्थ व्यक्तिले खोप पाउँदा गरिब देशका जोखिमयुक्त व्यक्ति खोप बिहीन हुनु न्यायीक नभएको बताएका हुन् ।
उनले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने पनि चेतावनी दिएका छन् । अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिब देशले २५ डोज मात्रै पाएको उनको भनाई छ । चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई खोप उपलब्ध गराउँदै आएका छन् । तर, गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले खोप पाउन सकेका छैनन् । यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिने उनकाे भनाई छ ।
‘विश्व गम्भीर नैतिक असफलताको किनारमा छ र यो असफलताको मूल्य विश्वका गरिब देशहरुले जीवन र जीविका मार्फत चुकाउनु पर्ने छ ।’ महानिर्देशक टेड्रोसले भने । ‘अन्तत: यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।’








