काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । बिहिबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । पराजित भएसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा आसिफ शेखले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुमित महर्जनले १८ रन बनाए । शरद भेषवाकर ५ रनमा अविजित रहे । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले २/२ विकेट लिए । यसअघि ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो ।
गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५/१५ रन बनाए । दिनेश बुढामगरले १२ रन बनाए । एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । अविनास बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए । जितसंगै समूह ‘ए’ को एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ ।








