चितवन । चितवनको राप्ती नगरपालिकामा एकै परिवारको दुई जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपाइएको छ । राप्तीको वडा नम्बर ८ का दुईजनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा छोरा हुन् । उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए । संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवातजावतमा रोक लगाउने तयारी गरेको छ ।
वडाका मुख्य चोक चोकमा सुरक्षाकर्मी परिचालन गर्न लागिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने भएको छ । सोहि वडामा छुट्टै क्वारेनटाइन निर्माण गरिने मेयर बरालले बताइन् । क्वारेनटाइनमा बस्नेहरुलाई खाना लगायतको सुविधको लागि र उनीहरुसँग सम्पर्क भएका व्यक्तीहरुको टे«सिङ गर्न समितिनै बनाएर काम अगाडी बढाइएको मेयर बरालले बताइन् ।
सोही वडाका बेलायतबाट आएका ६३ वर्षीय महिला र २७ वर्षीय पुरुषको हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै राप्तीसंगै चितवनमै उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित पुष्टि भइसकेकाले जिल्लामा उच्च सतर्कता अपनाइएको बताए । उनले भने–‘संक्रमण देखिएको स्थानलाई शिल गरि सकेका छौं, कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।’ उनले सम्पूर्ण चितवनबासीलाई घरमै बसेर सतर्कता अपनाउन आग्रह गरेका छन् ।








