चितवन । नारायणगढको आनन्दमार्ग स्थित एक घरमा शुक्रबार साँझ आएको हावाहुरी र चट्याङले घरको छतमा क्षति पुगेको छ । चट्याङले घर माथि पट्टिको छत प्वाल पारेको छ । वरिपरिका भित्ताका वायरिङमा पनि क्षति भएको छ भने मानवीय क्षति टरेको सोही घरमा रहने एक व्यक्तिले बताए । स्थानीय व्यक्तिले दिएको जानकारी अनुसार घरको नजिकको रोडमा रहेको हाइटेन्सन तारमा पनि क्षति पुगेको छ । चट्याङ लागेर तार भुइँमा लत्रिएको छ भने पोलमा चट्याङ लागेकोले अन्य तारहरुमा समेत क्षति पुगेको छ ।
त्यसैगरी शुक्रबार बेलुकी परेको पानीले आनन्दमार्ग स्थित तीन घरमा क्षति पु¥याएको छ । आकाशको पानी घरहुँदै नालातर्फ नभई नालाहुँदै घरतर्फ गएकोले सो क्षति भएको हो । करिब एक महिना अघि निर्माण गरिएको सो रोड निर्माण गलत भएकोले पानी घरमा पसेको एक स्थानीयले बताए ।हाल पाइपबाट पानी जाने व्यवस्था गरेको भए पनि वर्षातको समयमा झनै बढी समस्या हुने अर्का स्थानीय बताउँछन् । पाइप बिछ्याएर निर्माण भएको सो बाटो निर्माण घरको फोहोर पानी मात्र व्यवस्थापन हुने हुँदा वर्षातको समयमा निकै समस्या देखिने स्थानीयहरुको भनाइ छ ।








