काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप अभियानको देस्रो दिन बिहीबार देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा गरी कुल २८ हजार ७ सय ३२ जनाले खोप लगाएका हुन् । प्रवक्ता गौतमका अनुसार प्रदेश नं १ मा ३ हजार ८ सय ४७, प्रदेश नं २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जना रहेका छन् ।
बिहीबारसम्म खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको पनि प्रवक्ता गौतमले जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा कोरोनाको बेला फ्रन्टलाइनमा बसेर काम गर्नैहरुलाई खोप लगाने योजना सहित काम गरिरहेको जनाएको छ । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।








