काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिक–३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ । ‘रि–कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ ।
‘विराटनगरको ल्याबमा आठजनामा कोरोना पोजेटिभ देखाएको छ’, कोशी अञ्चल अस्पताल स्रोतले भन्यो, ‘धरानमा तीन आठजनाको नमुना पुन परीक्षण भइरहेको छ।’ गत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका९३ भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो । त्रियुगाका मेयर वलदेव चौधरीले पनि १२ जना पोजेटिभ देखिएपछि ६ वैशाखमै भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको र्यापिड टेस्ट गराएको बताएका छन् । जसमा शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्याबले पोजेटिभ देखाएको बताइएको छ ।








