गैडाकोट । गैडाकोटकी धार्मिक समाजसेवि राधिका पाठकले आफ्नो घरमा बहालमा बस्ने परिवारलाई घरभाडा निशुल्क दिने घोषणा गर्नुभएको छ । लकडाउनका कारण भाडामा बस्ने व्यक्तिहरु पनि मर्कामा परेको भन्दै एक महिनाको घर भाडा नलिने घोषणा गरेका छन् । गैडाकोट वडा नम्बर १ शुभ टोलमा आफ्नो घरको कोठा भाडामा लिएर बस्दै आएका ती परिवारको पहिलो चरणको लागि चैत महिनाको भाडा नलिने निर्णय गरीकी छिन्। कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा मानवीय धर्म निर्वाह गर्ने उद्धेश्यले भाडा निशुल्क गरिएको उहांँले बताउनु भयो । देशलाई संकट परेका बेला घर भाडा तिर्न समस्या हुने हुंँदा हाललाई चैत्र महिनाको भाडा नलिने घोषणा गरिदिएको हलकारो समाचारलाई जानकारी दिनुभयो । ‘कोरोनाको असरले व्यापार नै गर्न पाएका छैनन्, पसल पनि बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु पाठकले भन्नुभयो ‘अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेकी हुंँ ।’ यसको साथै घरभाडामा बसेकाहरुको लागि तरकारी उब्जाउनको लागि उहांँले केही जग्गा समेत उपलब्ध गराउनु भएको छ । त्यस्तै विभिन्न संघसंस्थामा रहेर सामाजिक तथा धार्मिक कार्य गर्दै आउनु भएकी पाठकको प्रयासलाई अरुलाई समेत प्रेरणा मिल्ने भाडामा बस्दै आएकाहरुले बताएका छन् ।








