चितवन । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागु गरेको २९ औं दिन बितेको छ । कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ ।
लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि चितवन र नवलपुरका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् । यस्तै सहरका भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ ।
सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् । चोकचोकमा बसेर सुरक्षाकर्मीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३२ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ । यस्तै अहिलेसम्म ८ हजार ७ सय ६३ जनाको पीसीआर प्रविधिमार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । चितवनको भरतपुरमा भरतपुर महानगरले अस्थाई कोरोना अस्पताल सञ्चालन गरेको छ । जहा कोरोना संक्रमित बिरामीहरुको उपचार गरिएको छ । चितवनको राप्ती नगरपालिकामा कोरोनाका संक्रमित भेटिएपछि चितवनमा आवगमनमा थप कडाई गरिएको छ ।
चितवन प्रवेश गर्ने नाका पुलचोक, लोथर, मौवा खोला र मुग्लिनमा विशेष कडाई गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनु भयो । अहिले बाहिर निकाल्न मिल्ने जति सबै सुरक्षाकर्मी निकालेर सडकमा खटाइएको शर्माको भनाई छ । कही दिन अगाडिसम्म बटुवाको प्रवेशको समस्या रहेपनी अहिले त्यो खाले समस्या पनि नरहेको शर्मा बताउनु हुन्छ । अहिले सुरक्षाकर्मीको परिचालन र कडाई थप प्रभावकारी पारिएको उहाँको भनाई छ । पुलचोकमा ड्युटीमा रहनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायव निरीक्षक कृष्ण ज्यु ठकुरीले अत्यावश्यक काममा हिडेका र पास बाहेकका सवारी साधन प्रवेशमा रोक लगाइएको बताउनु भयो ।
पुलचोकमा सेनिटाईजर टनेल पनि रहेकाले चितवन प्रवेश गर्नेलाई सवारी साधन बाट झारेर सेनिटाईजर गरेर मात्रै छिराएको उहाँको भनाई छ । पुलचोकमा शशस्त्र प्रहरी, जनपथ, टफिक प्रहरी सबै खटिएर लकडाउन कडाईका साथ कार्यान्वयन गर्ने काममा सुरक्षा निकाय सक्रिय भएको उहाँको भनाई छ ।








