काठमाडौं ।नेपाली सेनाले चीनबाट कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने औषधी खरिद प्रक्रिया टुंग्याएको छ।
नेपाली सेनाले चिनियाँ सरकारको स्वामित्व रहेको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसन मार्फत सवा दुई अर्ब बराबरको स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौता गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
नेपाली सेनाले वैशाख सात गते सिनो फार्मसँग एक करोड चौरासी लाख एकचालिस हजार सात सय ६ डलर ३५ सेन्ट (दुई अर्ब २६ करोड ३१ लाख १५ हजार नौ सय ४२ नेपाली रुपैयाँ ५४ पैसा आजको विनिमय दर अनुसार) बराबरको स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौता गरेको हो। सम्झौता अनुनसार तीन सय ४२ टन स्वास्थ्य सामाग्री नेपाल आउने छ।
नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि चीन भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरसँग सम्बन्धित दूतावास मार्फत चैत २५ गते आर्थिक प्रस्ताव उपलब्ध गराउन माग गरेको थियो। सोही वमोजिम नेपाली सेनाले चिनियाँ सिनोफार्मासँग सम्झौता भएको प्रवक्ता पाण्डेले जानकारी दिए।
सरकारले चैत १६ गते औषधी खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।








