काठमाडौँ । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका छन् । तर, सत्तापक्ष भने प्रदेशसभा बैठक रोक्ने पक्षमा रहेको बताइएको छ ।
नेकपा विभाजन भएपछि प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि ओली पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-माधव पक्षका १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बनमा परेका प्रदेशसभा सदस्यहरूको उपस्थितिमा बैठक अघि बढ्न नदिने ओली पक्षको अडान छ ।
प्रचण्ड-माधव पक्षले पनि मुख्यमन्त्री राईसहित ओली पक्षका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । यसअघि ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो । प्रदेशसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।








