काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा २३३ जना थप गरिएको बताए ।
योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या तीन हजार १० जना पुगेका छन् । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा २३३ जना थपिएका हुन् । उनले मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा २३३ जना थपिएका जानकारी दिए ।
“सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उनले भने, “सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।” सङ्क्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७६६ रहेको छ ।








