चितवन । भरतपुर कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको घटना बाहिर आएपछि नेपाली काँग्रेस चितवनले घटनाको सत्यतथ्य छानविनको माग गरेको छ । काँग्रेसले घटनाको छानविनका लागी उच्च स्तरीय सर्वदलिय सर्वपक्षिय छानविन समिति गठनको माग गरेको छ । विपतको बेला स्थापना गरिएको अस्पतालमा काम गर्न खटाईएका कर्मचारीले सामान चोरेपछि यसलाई गम्भिर रुपमा छानविन गर्न माग गरेको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको थियो । उनीहरुलाई तत्काल निलम्बन गर्न माग गरिएको छ ।
नेपाली काग्रेस चितवनले घटनामा संलग्न देखिएका लाई तत्काल निलम्बन गर्न भनेको छ । काग्रेस जिल्ला समितिले मंगलवार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले घटनाको छानविन उच्च स्तरीय समितिले मात्रै गर्नुपर्ने बताएका छन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान रातारात चोरी भएको छ ।








