नवलपुर । भीमसेन हाई स्कूल एलुम्नाई एसोसिएशन (भीसान) नवलपुरको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य परिक्षण शिविर गरिएको छ । देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । सो कार्यक्रम लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ नारायणगढ नारायणी समेतले साझेदारीमा आयोजना गरिएको हो । शिविरमा ६ जना बिसेषज्ञ डाक्टरले करिव ४ घन्टासम्म सेवा दिएका थिए ।
जसमा विद्यार्थी र अभिभावक गरि २ सय ३७ जनाले सेवा लिएका थिए भने करिब १ लाख ३० हजार रुपैयाँ बढीको औषधि वितरण समेत गरिएको थियो । शिविरमा प्राविधिक सहयोग गरेको भरतपुर स्थित पुष्पान्जली अस्पताल प्रा.लि.का विशेषज्ञ डाक्टर किरण देवकोटाले विद्यालयका बालबालिकाहरुले “जंकफूड” को प्रयोग बढि गर्ने हुँदा बालबालिकाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएको जनाउनु भएको थियो ।
विगत केही बर्ष अघिदेखि भीसान नवलपरासीले उक्त विद्यालय लगायत देवचुलीकै विभिन्न स्थानमा विभिन्न स्वास्थ्य परिक्षण शिविर कार्यक्रमहरु गरिरहेकोमा यो कार्यक्रम पनी त्यसैको निरन्तरता रहेको भीसानका अध्यक्ष शेर बहादुर पौडेलले जानकारी दिँदै भीसानले अन्य विभिन्न शैक्षिक तथा सामाजिक कार्यहरु गरिरहेको जानकारी गराउनु भएको थियो ।
सो शिविरमा बरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, बरिष्ठ जनरल सर्जन डा. अमित शर्मा, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. दामोदर कंडेल, बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जीवन परियार, बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटा र मेडिकल अफिसर डा.टेकेन्द्र गौतमबाट बिरामीको परिक्षण गरिएको थियो ।








