बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे थियाे । क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।
अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’ अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए ।
त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।
सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।








