हेटौंडा । साविक विजेता जावलाखेल यूथ क्लव मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बारा सिमराको नवजनजागृति युवा क्लवलाई ४–१ गोल अन्तरले हराउँदै जावलाखेलले सेमीफाइनल भिडन्त पक्का गरेको हो ।
जावलाखेलको जितका लागि चारैगोल विदेशी खेलाडी फोडे फोफोनाले गरेका हुन् । पहिलो हाफमै ह्याट्रिक पूरा गरेका उनले दोस्रो हाफमा थप एक गोल गरेका थिए । यस्तै नवजनजागृति युवा क्लवको तर्फबाट एकमात्र गोल शेरप लो तामाङले गरेका थिए । खेलको म्यान अफ द म्याच जावलाखेलका फोडे फोफोना नै घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगितामा बिहीबार थ्रीस्टार क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव खेल्नेछ । यही २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।








