मुम्बई । भारतको महाराष्ट्र प्रान्तस्थित एक अस्पतालमा शुक्रबार बिहान आगलागी हुँदा उपचाररत १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विजय भल्लाह अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका रहेको बताइएको छ । ‘घटना हुँदा करिब ९० जना जति बिरामीहरू अस्पतालमा भर्ना गरिएका थिए’, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलिप शाहले भने ।
जसमध्ये आईसीयूमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले बताए । आगलागी हुँदा अस्पतालमा चिकित्सकहरू नरहेको कतिपयले बताएका छन् । तर सीईओ शाहले त्यसबेला पनि अस्पतालमा चिकित्सकहरू रहेको बताएका छन् । उनले अस्पतालमा सबै अग्नि सुरक्षाका उपायहरू अपनाइएको पनि दाबी गरेका छन् ।
यसअघि पनि महाराष्ट्रको नाशिकमा अक्सिजन चुहावट भएपछि २४ कोरोना संक्रमितको ज्यान गएको थियो ।एजेन्सी








