चितवन । कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि चितवनमा गत वर्ष सञ्चालित सबै आइसोलेसन कक्ष पुनः सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डीसिसिएमसी) को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भरतपुर महानगरपालिकामा कम्तिमा २ सय क्षमताको अक्सिजनसहितको आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको डीसिसिएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । र अन्य पालिकाहरुमा कम्तिमा २०–२० क्षमताको अक्सिजनसहितको आइसोलेसन वार्ड तयार पारिने उनले बताए ।
उनका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितहरुलाई होम आइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका संक्रमितहरुलाई भने अस्पतालमै आउन डीसिसिएमसीले आग्रह गरेको छ । यस्तै डीसिसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) लगायतका निजी अस्पतालहरुमा थप आइसोलेसन, एचडियु, आइसियु र भेन्टिलेटर निर्माण गरी संक्रमितहरुको सहज र प्रभावकारी सेवा दिन आग्रह गरेको छ ।
यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशिल बनाइने उनले जानकारी दिए । जिल्ला भित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमता अनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ ।
बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।








