धनगढी । कैलालीमा बिहीबार देखी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । वैशाख १६ गते बिहान ६ बजे देखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले बैठक बसालेको थियो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सर्वपक्षीय बैठकमा कैलालीमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै सरोकारवालाहरूले लकडाउन गर्न स्थानीय प्रशासन समक्ष सुझाव दिएका थिए ।
यस्तै यसअघि सोमबारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो। कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा रात्रिकालीन लकडाउन गरिने निर्णय गरेको थियो। पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ ।
सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर बेदकोट १ का ४८ वर्षीय पुरुष र कैलाली गोदावरी ५ कि ३५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो । यसअघि सोमवार राती कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको थियो । भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। भारतबाट फर्किएका उनमा भारतमै परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। हाल अस्थायी कोरोना अस्पताल धनगढीमा ४२ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये २ जना भेन्टिलेटरमा रहेका छन् भने ११ जना आइसियु र २५ जना अक्सिजनमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७० जनाको परीक्षण गर्दा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सबै भन्दा बढी धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए ।








