एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।
एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत् पीएसजीलाई खेलको १५ औं मिनेटमा अघि बढाएका थिए । तर, दोस्रो हाफमा डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए ।
डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् । पहिलो लेगमा प्राप्त जितसंगै सिटी सेमिफाईनलमा बलियो बनेको छ ।








