चितवन । चितवनमा कोरोना भ्याक्सिन लगाउने अधिकांश नागरिकमा पुन कोरोना संक्रमण देखिन थालेपछि थप शंशकित र चिन्तित बनाएको छ । अहिले चितवनका अस्पतालमा कोभिडका नयांँ बिरामीको साथै कोभिड १९ भ्याक्सिन लगाउने नागरिकहरुलाई न्यू भेरियण्ट को कोरोना भाइरसले पिरोल्न थालेको हो ।
कोरोना भाइरस आफैमा नयांँ अनुसन्धानको विषय भएको र विश्वका चिकित्सकहरुको लागि अध्ययन र अनुसन्धानकै विषय भएकोले उनीहरुपनि अन्यौल र चिन्तामा छन । न्यू भेरियण्ट कोरोना भाइरसले नागरिक त के चिकित्सक र अन्य स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन । चितवनमा पनि पछिल्लो समय दुबै डोज भ्याक्सिन लगाएका त्यस्ता व्यक्तीहरुमा पनि व्यापक रुपमा कोरोना संक्रमण फैलिैदै गएको छ । कोरोनाको उपचार भन्दा पनि चिकित्सकहरुले त्यस्ता संक्रमितको लागि थप समस्या नहोस भन्नाका लागि रोकथाम गर्नका लागि उनीहरुको निगरानी गरेका हुन
।
चितवनका विभिन्न स्वास्थ्यकर्मीहरु, सुरक्षा अधिकारी, सरकारी कर्मचारी, पत्रकार, बैँकका कर्मचारीहरुलगायतलाई जनस्वास्थ्य कार्यालयको समन्वयमा कोरोनाविरुद्धको खोप लगाइएको थियो । तर, खोपको दुवै डोज लगाएकाहरुमा पनि निरन्तर कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
दुवै डोज खोप लगाएका चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी कोरोना संक्रमित भएर अहिले आइसोलेसनमा नै छन् भने बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको छ । यी घटनाहरु मात्र होइन अन्य दुवै डोज कोभिड सिल्ड लगाएका नागरिकहरुलाई पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले खोप लगाएकाहरुलाई पनि संक्रमण देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामी यसबारे अनुसन्धान गर्दै छौं । खोपले शत प्रतिशत कोरोना रोक्न त सक्दैन । लागिहाले पनि गम्भीर बिरामी पर्न दिँदैन भन्ने छ ।’ प्रमुख तिवारीले खोपलगाएकाहरुलाई कोरोना संक्रमण देखिएको बारे हामीले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्छौ ।
त्यसैगरी चितवन मेडिकल कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले कोरोनाको दुवै डोज खोप लगाएकाहरुलाई पनि चितवनमा कोरोना संक्रमण देखिएको जानकारी दिए । डाक्टर अधिकारीले मेडिकल कलेजमा दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण देखिएको बताए । चितवन मेडिकल कलेजमा अहिलेसम्म ३३३ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । आजमात्र अस्पतालमा थप तीन जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ।








