नवलपुर । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको जारी छ । गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ। यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन। लक डाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन्। जसका कारण नवलपुर क्षेत्रमा रहेका केहि पसल तथा बैङकहरु निश्चित समयाअवधिमा सञ्चालित छन । सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन्। बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन् । सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो ।








