पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई प्रदेश सांसदले आफू तटस्थ रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धले उनीसहितको समर्थन रहेको भनी सरकारको नेतृत्वमा दाबी गरिसकेको अवस्थामा सांसदद्वय कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु विपक्षी गठबन्धनमा नरहेको र तटस्थ बसेको बताएका हुन् ।

यसअघि शाही अविश्वासको प्रस्तावमा मतदान गर्नेदिन बिरामी भएको भनी कसैलाई थाहै नदिई अस्पताल भर्ना भएका थिए ।

यस्तै, थापाले प्रदेश प्रमुखलाई पत्र लेखेर गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।
दुई सांसदले आफू तटस्थ रहेको बताएसँगै गण्डकीको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसक्ने भएका छन् ।
सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ ९सभामुखसहित०, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए ।
अब ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुन मुख्यमन्त्री बन्ने झण्डै पक्कापक्की भएको छ ।








