काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । सोमबार दिउँसो २ बजे बोलाइएको बैठकको सुरुमै एमाले संसदीय दलका नेता यमलाल कँडेलले राजनीतिक अपराध गरेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउन माग गर्दै बैठक अवरुद्ध पारेका हुन् । ‘अदालतले फरार पुष्टि गरेका व्यक्तिहरू झण्डा हल्लाउँदै यो सभासम्म प्रवेश गरेका छन्,’ उनले भने, ‘तीन तहका अदालतले सरकारी कागज किर्ते गरेको प्रमाणित भएका व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न पाइँदैन ।
तर सरकारले त्यो नस्वीकारेको अवस्थामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ एमालेमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका एमालेका माधव नेपाल पक्षका भौतिक पूर्वाधार विकासमन्त्री अमर बहादुर थापातर्फ लक्षित गर्दै कँडेलले तत्काल बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री थापालाई जालसाजी सरकारी काजगजात किर्ते मुद्दामा जेठ तीस गते सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।
यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैंकिङ कसुर मुद्दामा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री खड्ग बहादुर खत्रीलाई पदबाट बर्खास्त गरेका थिए । पछि खत्रीले सर्वोच्चबाट सफाइ पाएका छन् । नेता कँडेलले पूर्वमन्त्री खत्रीको उदाहरण दिँदै त्यसै गरी कारवाही गर्न माग गरेका हुन् । एमालेका सांसदहरू उभिएर विरोध जनाएपछि प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको सभामुख राजबहादुर शाहीले बताए ।








