एजेन्सी । कोपा अमेरिका अन्तर्गत चिलीसँग १–१ को बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले शानदार फ्रिकिक गोलमार्फत आफ्ना लिजेन्ड डिएगो म्याराडोनाको सम्मान र स्मरण गरेका छन् । समूह ए को सुरुआती खेलमा मेस्सीले पहिलो हाफमा उत्कृष्ट फ्रिकिक गोल गरे । ३३ औं मिनेटमा गरेको गोलले पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता दिलाएको थियो ।
उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्याए । तर दोस्रो हाफको सुरुमै इडोउरो भार्गासले बराबरी गोल फर्काए । ५७ औं मिनेटमा पेनाल्टी अवसर पाएपछि अटूरो भिडालको पेनाल्टी प्रहार अर्जेन्टिनाका गोलरक्षकले रोकिदिए । रिबाउण्ड बललाई नै भार्गासले सदुपयोग गर्न भ्याए । खेल सुरु हुनुअघि लाइट र इफेक्टको प्रयोगद्वारा विश्व फुटबलकै सर्वकालीन महान खेलाडी अर्जेन्टाइन डिएगो म्याराडोनाको स्मरण गरिएको थियो ।
सन् १९८६ को विश्वकप जित्दाको म्याराडोनाको प्रदर्शनको भिडियो क्लिपहरु इफेक्टमार्फत मैदानमा देखाइएको थियो । महान फुटबलर म्याराडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो । महादेशीय प्रतियोगितामा अर्जेन्टिनाका लागि चिली टाउको दुखाइ बनेको धेरै भइसकेको छ । सन् २०१५ र २०१६ मा आयोजित कोपा अमेरिकाको फाइनलमा चिली नै अर्जेन्टिनाको बाधक बनेको थियो ।
गत सातामात्र विश्वकप छनोट अन्तर्गतको खेलमा पनि चिलीले अर्जेन्टिनालाई बराबरीमै रोकेको थियो ।








