काठमाडौं । हालै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएकी एक महिलाको नवजात शिशुलाई उच्च शिक्षासम्म र त्यसपछि रोजगारीको ग्यारेन्टी गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले घोषणा गरेका छन् । गत बिहीबार कोरोनाभाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी, ९ की २९ वर्षीया सावित्री तिमल्सिना (चालिसे)को नवजात शिशुलाई उच्च शिक्षासम्मको अध्ययन र त्यसपछि रोजगारीको व्यवस्था गर्ने पूर्वमन्त्रीसमेत रहेका बस्नेतले घोषणा गरेका हुन् । ती महिला नेपालमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति भएकी छन् । १० दिनकी सुत्केरीसमेत रहेकी ती महिलाको मृत्यु गरिएको थप परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । नेता बस्नेतले महिलाको नवजात शिशुको पोष्टिक आहारका लागि ५० हजार रुपैयाँ र १२ कक्षासम्म निःशुल्क रूपमा शिक्षा र उच्च शिक्षा पश्चात् रोजगारी समेतको ग्यारेन्टी गर्ने घोषणा गरेका हुन् ।








