हेटौडा । मकवानपुर प्रहरीले १ सय ४३ किलो ३ सय ग्राम लागूऔषध गाँजासहित हेटौँडाबाट तीन जनालाई पक्राउ परेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित सडकखण्डबाट उक्त परिणामको लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान ३ बजेको समयमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ख ९९१० नं.को कन्टेनर गाडीलाई रोकी चेकजाच गर्ने क्रममा लुकाईछिपाई ल्याएका उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोकको बार्ह्रबिसे नगरपालिका वडा नम्वर ५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सह–चालक सोही नगरपालिका वडा नम्वर ८ का २४ वर्षीय सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ का १८ वर्षीय सविन तामाङ रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ । मकवानपुर प्रहरीले यसअघि बुधबार राति पनि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवी रोडस्थितबाट ९६ किलो ४ सयग्राम लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको थियो ।








