हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गए राति काठ तस्कर गर्दै गरेको मिनिटाटा गाडिसहित २ जनालाई पक्राउ गरेको छ ।
बिहिबार राति १२ बजेर १० मिनेटमा हेटौंडा-११ तिनताप्के सडक खण्डमा बसामाडीबाट पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ख ०१३२ नम्बरको मिनिटाटा गाडीलाई रोकि चेकजाँच गर्दा गाडीमा लुकाई छिपाई ल्याएको अबैध सालको २७ वटा फेन्टा अर्थात ५४ क्युफिट काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले गाडी चालक हेटौंडा-११ स्मारकका २३ वर्षीय सुखराम रुम्बा र सो काठ ओसार-पसारमा संलग्न सोही गाडिको पछाडि ना ५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएका हटौंडा-१३ को २४ वर्षीय दिपेश लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जना र बरामद भएको काठलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।








