एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछ । नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । युवा खेलाडी रहेको डेनमार्कले ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । ३ खेलमा ३ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो । यता, वेल्स पनि बलियो मानिन्छ ।
समूह चरणमा वेल्सले ठुला देशसँग राम्रो प्रर्दशन गरेको थियो । समूह ‘ए’को उपविजेतासमेत रहेको वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको दुवै टिम अहिलेसम्म १० पटक आमुनेसामुने भएका छन् । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।








