बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेल रहेका छन् ।
खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर अवस्थामा उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जंगल क्षेत्रबाट करिब १५÷१६ किलोमिटर टाढा सदरमुकाम कलैया आएर हात्तीले मानिसलाई आक्रमण गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट नै हात्ती आएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।








