एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे ।
एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका लागि मिकेल डाम्सगार्डले एक गोल गरे । वेम्बली स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा डेनमार्क पराजित भएको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो ।
३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । २१ वर्षीय डाम्सगार्डले बक्सको ठिक बाहिरबाट फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।
तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।








