काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विजेता टोलीका खेलाडी ४-४ लाख र प्रशिक्षकलाई २ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरेका हुन् ।
सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो ।
गत चैत १६ गते भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएर उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए ।
उनले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए । थ्री नेसन्सको उपाधि नेपालले ३७ वर्षपछि घरेलु भूमिमा जितेको पहिलो उपाधि हो ।








