चितवन । चितवनमा पनि कोरोना भाईरसको डेल्टा भेरियन्ट फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका दुई वटा नमूनामा डेल्टा भेरियन्ट फेला परेको हो ।
भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलका अनुसार यहाँको प्रयोगशालामा पोजेटिभ देखिएका पाँच वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईएको थियो । ती नमूना मध्ये दुई वटा अन्तर्राष्ट्रिय प्रयोगशाला जिन सिक्युन्सिङ्ग गर्न पठाईएको थियो । उक्त दुवै नमूनाहरुमा डेल्टा (B.1.617.2-like) प्रमाणित भएको डा.पौडेलले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।
कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रममक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको बरिष्ठ कन्सल्टेन्ट फिजिसियन समेत रहनु भएका डा.पौडेलले बताउनुभयो । डेल्टा भेरियन्टले बालबालिकादेखि बृद्धबृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएका छन् ।
भरतपुर अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नागरिकहरुलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल समेत गरेको छ ।








