काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने पक्का भएको छ । सन्दीपले भिसाकै कारण खेल्न नपाएका हुन् । बेलायतको टियर-५ भिसाको आवेदन दिन र त्यसका लागि एउटा प्रायोजन पर्याप्त हुने इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) को निर्देशन पालना गर्दा पनि प्रतियोगिताबाट बाहिर हुनु परेकोमा सन्दीपले निराशा व्यक्त गरेका छन् ।
‘म जुलाई ९ मा बेलायत आउँदासम्म कुनै समस्या थिएन । त्यसपछि मलाई सरकारी क्वारेन्टिन केन्द्रमा पठाइयो । जुलाई १८ मा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि ईसीबीले मेरो भिसा सकिएको र जतिसक्दो छिटो मैले मुलुक छाड्नुपर्ने बतायो । मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन् ।
मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो । तर कम्तीमा मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक मलाई थियो ।’ सन्दीपले सामाजिक सञ्जालमा भनेका छन् । बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए ।
सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । सन्दीप खेल्न नपाएपछि नेपाल फर्कने तयारीमा लागेका छन् ।








