काठमाडौँ । लेजेन्ड एल क्लासिकोमा स्पेनिस क्लब रियल म्याड्रिडले जित हात पारेको छ । गएराति इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा भएको खेलमा रियलले क्याटलान क्लब बार्सिलोनालाई ३-२ले पराजित गरेको हो ।
खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनियो नुनेजले जेभियर साभिओलालाई पेनाल्टी बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो जसमा रोनाल्डिन्हो चुकेनन् ।
४१औँ मिनेटमा पेड्रो मुनिटिसले गोल गर्दै रियललाई बराबरीमा ल्याए । त्यसको २ मिनेटमै अलफन्सो पेरेजलेगोल गर्दै रियललाई खेलमा २-१को अग्रता दिलाए ।
खेलको ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि बार्सिलोनाले खेल २–२ गोलको बराबरीमा ल्याएको थियो तर, ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए । मनोरञ्जनका लागि मैत्रीपूर्ण लेजेन्ड खेलाडीको एल क्लासिको भएको हो ।








