चितवन । पुर्वीचितवनको खैरहनी नगरपालिकाले व्यवस्थित र सहज वनाउन प्रत्येक वडामा खोप कार्यक्रम संचालन गरेको छ । नगरका स्वास्थ्य संस्था मार्फत १३ वटै वडाका नागरीकलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । अघिल्लो पटक सिमित ठाउँमा मात्र खोप संचालन गर्दा व्यवस्थित हुन नसकेको गुनासो आएपछि नगरपालिकाले प्रत्येक वडामा विस्तार गरेको नगरपालिका प्रमुख लालमणि चौधरीले वताए ।
सुरुमा केही अप्ठ्यारो थियो नगर प्रमुख चौधरीले भने – यो पटकदेखी सहज र सरल तरिकाले खोप संचालन भईरहेको छ । यसअघि छुटेका ५५ वर्ष माथि उमेर समुह,शिक्षक,सार्वजनिक सवारीका चालक,अपांगता भएका क र ख वर्गका व्यक्तीका लागि साउन ११ गतेदेखी खोप कार्यक्रम संचालन भईरहेको छ ।
दुई दिनमा नगरपालिका भित्रका लक्षित वर्गका २ हजार १ सय १५ जनाले खोप लगाएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । खोप कार्यक्रमलाई थप व्यवस्थित वनाउन वडा तहमा वडा अध्यक्षको नेतृत्वमा कार्यक्रम संचालन भईरहेको छ । त्यस्तै नगरपालिकाबाट पनि नियमित अनुगमनको काम भईरहेको र प्रभावकारी पनि भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए ।
नगर प्रमुख चौधरी,उपप्रमुख सुनिता थपलियासहित स्वास्थ्य शाखाको टोलीले प्रत्येक दिन अनुगमन गरिरहेको छ ।








