सांकेतिक तस्विर
हेटौंडा । मकवानपुर प्रहरीले विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध गाँजा, चेक अनादर र चोरी मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चोरी मुद्दामा फरार रहेका कैलाश गाउँपालिका वडा नंबर ८ घर भई मनहरी गाउँपालिका वडा नंबर ९ बस्ने १८ वर्षीय राजिन्द्र मोक्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।मकवानपुर जिल्ला अदालतको विसं २०७७ माघ २८ गते फैसलाअनुसार मोक्तानलाई १ वर्ष ४ महिना कैद र २० हजार जरिवाना कैद फैसला भएको थियो ।
त्यस्तै लागुऔषध गाँजा मुद्दामा फरार रहेका रौतहट चन्द्रपुर नगरपालिका वडा नंबर ३ बस्ने ३० वर्षीय पुर्ण बहादुर गोलेलाई हेटौंडा–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतको विसं २०७८ बैशाख १६ गतेको फैसलाले गोलेलाई लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिनको कैद फैसला भएको थियो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि भिमफेदी पठाउने कार्य भईरहेको छ ।
यसैगरी चेक अनादर मुद्दामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नंबर १ बस्ने ३७ वर्षीय पेमा योञ्जन र कैलाश गाउँपालिका वडा नंबर २ बस्ने २७ वर्षीय दिल बहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । योञ्जन र नेगीलाई हेटौंडा उपमहानगरपालिका वडा नंबर २ बाट जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
मकवानपुर जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलाको फैसलाले योञ्जनलाई दुई हजार र नेगीलाई एक हजार जरिवाना फैसला भएको थियो ।








