इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा अमेरीकन फौजि किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानहरुलाई नि स्शुल्क विषादी वितरण गरेका छन् । गाउँपालिकाभित्रका ४ सय किसानलाई करिब ६ सय बोत्तल विषादी वितरण गरिएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानहरुलाई निःशुल्क वितरण गरिएको बताउनुभयो । गत साल फाट्टफुट्टरुपमा देखिएको फौजि किरा यस बर्ष भने अत्याधिक बढेको उहाँले बताउनुभयो । गाउँपालिकाभर ५० विगाहा भन्दा बढि मकैबालीमा यसको प्रकोप देखा परेको उहाँको भनाई छ । अहिले किसानहरुलाई फौजी किरा बारे जानकारी गराउने र नियन्त्रणका उपायँ सिकाउने काम गरिरहेको बताउनुभयो । कृषि शाखा प्रमुख घिमिरेका अनुसार एक÷दुई बोटमा देखिन वितिकै उक्त बोटलाई उखेलेर फाल्दा प्रकोप फैलिन पाउदैँन तर धेरैमा किरा लागेछि विषादी नै प्रयोग गर्नुपर्ने हुन्छ । गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उहाँले बताउनुभयो । फौजी किराको प्रकोप बढ्दै गएपछि किसानहरु चिन्तित बनेका छन् । बेलैमा समस्याको समधान नगरे मकैबाली नास हुने किसानहरु बताउँछन् ।








